वीरगञ्जस्थित आदर्शनगर रंगशालामा सञ्चालन भइरहेको “मारवाडी प्रिमियर लिग-३” क्रिकेट प्रतियोगिताको तेस्रो दिनका खेलहरू उत्साहपूर्ण वातावरणमा सम्पन्न भएका छन्। मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा प्रतियोगिता जारी रहेको हो।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न खेलहरूमा खेलाडी र दर्शकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा १० वटा टोली सहभागी रहेका छन् भने कुल २३ खेल खेलाइने कार्यक्रम रहेको छ। प्रतियोगिताको विजेता टोलीले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक केशव खेतानले जानकारी दिए।
तेस्रो दिनको पहिलो खेल माछापुच्छ्रे BTS ब्लास्टर र मकालु महाकाल राइजरबीच भएको थियो। मकालु महाकाल राइजरले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। लक्ष्य पछ्याएको माछापुच्छ्रे BTS ब्लास्टरले उत्कृष्ट ब्याटिङ गर्दै १५ ओभरमा ४ विकेट गुमाएर ११५ रन बनाउँदै ६ विकेटले शानदार जित हात पारेको थियो।
त्यसैगरी दोस्रो खेल एभरेष्ट ब्लेजिङ र गौरीशंकर हिटर्सबीच भएको थियो। एभरेष्ट ब्लेजिङले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनाएको थियो। जवाफी ब्याटिङमा गौरीशंकर हिटर्सले १४.१ ओभरमा ५ विकेटको क्षतिमा ९७ रन बनाउँदै ५ विकेटले जित हासिल गरेको थियो।
आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समुदायबीच आपसी सद्भाव, एकता तथा खेल संस्कृतिलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

COMMENTS