हेल्पिङ ह्यान्ड युथ सोसाइटीको आयोजनामा वीरगञ्जस्थित बिन्दाबासिनी पार्टी प्यालेसमा ‘परीक्षा तनाव व्यवस्थापन तथा आत्म-साक्षात्कार’ विषयक विशेष सेमिनार भव्य रूपमा सम्पन्न भएको छ। चैत ११ गते बुधबार आयोजित उक्त कार्यक्रममा विभिन्न कलेजमा कक्षा १२ मा अध्ययनरत हजारौँ विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यार्थीहरूमा परीक्षा सम्बन्धी तनाव व्यवस्थापन, आत्म-चेतना अभिवृद्धि तथा लक्ष्यप्रति केन्द्रित रहने क्षमताको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। सेमिनारमा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा विभिन्न शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा क्षेत्रका वरिष्ठ व्यक्तित्व विष्णु प्रसाद यादव रहेका थिए भने विशिष्ट अतिथि तथा अन्य अतिथिहरूमा शैक्षिक परामर्शदाता सञ्जय कुमार गुप्ता, एपेक्स म्यानेजमेन्ट कलेजका निर्देशक राजीव रंजन, ब्राइट पब्लिक कलेजका निर्देशक सुरेश गुप्ता, सनलाइट कलेजका निर्देशक प्रमोद कुमार गुप्ता, बीसीटी कलेजका प्राचार्य विकास श्रीवास्तव, पैरामाउन्ट +२ कलेजका निर्देशक अजय गुप्ता तथा ज्ञानज्योति विद्यालयका +२ संयोजक यज्ञराज पटेलको उपस्थिति रहेको थियो। साथै विभिन्न सञ्चारमाध्यम तथा रेडियोका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष राज गुप्ता तथा विद्यार्थी जीवन प्रशिक्षक तथा प्रेरणादायी वक्ता प्रदीप कुमार साहले विद्यार्थीहरूलाई प्रेरणादायी मन्तव्य प्रदान गर्दै परीक्षा तनावलाई कसरी नियन्त्रण गर्ने, समयको प्रभावकारी व्यवस्थापन कसरी गर्ने तथा आत्मविश्वासका साथ लक्ष्यतर्फ अघि बढ्ने विषयमा महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए।
वक्ताहरूले विद्यार्थी जीवनमा मानसिक सन्तुलन, सकारात्मक सोच तथा आत्मविश्वासको महत्वमाथि विशेष जोड दिँदै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सही दिशा प्रदान गर्न सहयोग पुग्ने बताएका छन्। आयोजक संस्थाका पदाधिकारीहरूले पनि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

COMMENTS