इनिशा बिक बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले अनुसन्धान पूरा गर्दै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतमा बुझाएको छ।
वीरेन्द्रनगर नगरपालिका-१ निवासी इनिशा बिक गत फागुन २३ गते वीरेन्द्रनगर-४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। तत्काल कर्णाली प्रदेश अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले एक १६ वर्षीय किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेका किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तश्राव भई बेहोस भएको बयान दिएका छन्। पोस्टमार्टम रिपोर्टमा समेत यौनांगको भित्री भागमा लागेको गहिरो चोटका कारण अत्यधिक रक्तश्राव भएको उल्लेख गरिएको छ।
यस घटनामा संलग्न रहेको आशंकामा अन्य तीनजनालाई पनि पक्राउ गरिएको छ। प्रहरीका अनुसार एकजना मुख्य आरोपी रहेको र अन्य तीनजना सहयोगीको भूमिकामा रहेको प्रारम्भिक निचोड निकालिएको छ।
इनिशा बिक प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै सुर्खेतदेखि काठमाडौंसम्म र देशभरबाट आवाज उठेको थियो। अब उक्त घटनाको न्यायिक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

COMMENTS