राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न ४ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्दैछ। बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
बैठकमा रास्वपाको संसदीय दलको नेता चयनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ। पार्टी विधानमा दलको नेता चयन प्रक्रियासम्बन्धी केही संशोधन आवश्यक देखिएकाले केन्द्रीय समितिले सो विषय टुंग्याउने तयारी गरेको हो।
विधान संशोधन प्रक्रिया पूरा भएपछि बस्ने संसदीय दलको बैठकबाट वरिष्ठ नेता बालेन शाह लाई दलको नेता चयन गर्ने तयारी गरिएको छ। शाह दलको नेता चयन भएपछि रास्वपाले औपचारिक रूपमा राष्ट्रपति कार्यालयलाई जानकारी गराउनेछ।
त्यसपछि रामचन्द्र पौडेल ले नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलका नेतालाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउने छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो।

COMMENTS