सिमरा ,पौष १९ । बारा निर्वाचन क्षेत्र नं. ४ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले विधिवत् भेला आयोजना गरी आफ्नो प्रस्तावित उम्मेदवारको नाम सार्वजनिक गरेको छ। सिमरामा सम्पन्न उक्त भेलामार्फत पार्टीले युवा, इमान्दार र परिवर्तनप्रति प्रतिबद्ध व्यक्तित्वका रूपमा सालिकराम अधिकारीलाई अघि सारेको हो।
देशैभर फागुन २१ नजिकिँदै गर्दा चुनावी सरगर्मी बढिरहेको बेला बारा-४ मा पनि चुनावी माहोल तातिन थालेको छ। “जान्ने लाई छान्ने” नारा बोकेको रास्वपाले लामो समयदेखि शिक्षण पेशामा रहेर सेवा गरेका अधिकारीको नाम अघि सार्दै स्थानीय तहमा सकारात्मक सन्देश दिएको छ।
सिमरा कलेजका प्रमुखका रूपमा लामो समय सेवा गरेका अधिकारी विभिन्न स्थानीय संघ-संस्थामा जिम्मेवारी वहन गर्दै समाजमा स्थापित व्यक्तित्वका रूपमा परिचित छन्। युवामाझ लोकप्रिय, विद्यार्थीहरूबीच प्रिय तथा प्रखर वक्ताका रूपमा चिनिने उनी सरल जीवनशैली र मिलनसार स्वभावका कारण आम नागरिकको रोजाइमा पर्दै आएका छन्।
आजको आवश्यकता शिक्षित र जिम्मेवार युवाले नेतृत्व लिनु हो भन्ने मान्यतालाई आत्मसात गर्दै, चुरे पहाडदेखि मधेस र सीमावर्ती बस्तीका दैनिकी समस्यासँग नजिकबाट हुर्किएका अधिकारी बारा क्षेत्र नं. ४ का लागि बलिया उम्मेदवारका रूपमा देखिएका छन्।




COMMENTS