जिल्ला प्रशासन कार्यालय बाराले फागु पूर्णिमा (होली) पर्वलाई मर्यादित, सभ्य र शान्तिपूर्ण रूपमा मनाउन जिल्लाबासीमा अपिल गरेको छ। आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिएकाले यस वर्ष होली मनाउने क्रममा प्रशासनले थप कडाइ गरेको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनामा होली मनाउँदा निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न आग्रह गरिएको छ। सूचनाअनुसार होलीका नाममा कुनै पनि राजनीतिक दलको चुनाव चिन्ह, उम्मेदवारको फोटो वा निर्वाचनलाई प्रभाव पार्ने लोगो अंकित टिसर्ट तथा प्रचार सामग्री प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
प्रशासनले होलीका दिन भिडभाड हुने खालका कार्यक्रम गर्न नपाइने स्पष्ट पारेको छ। साथै, कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने तथा बाटोमा हिँड्ने सर्वसाधारणलाई अवरोध गर्ने गतिविधि पनि निषेध गरिएको छ।
त्यस्तै, मादक पदार्थ वा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने (मापसे) र सार्वजनिक स्थलमा होहल्ला गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गरिने चेतावनी दिइएको छ। चर्को आवाजमा डिजे बजाउने, आतसबाजी वा पटका पड्काउने कार्यमा समेत रोक लगाइएको प्रशासनले जनाएको छ।
बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले सम्भव भएसम्म आफ्नै घरपरिवार तथा नजिकका आफन्तबीच सीमित रूपमा होली मनाउन र ठूला सार्वजनिक जमघटबाट टाढा रहन आग्रह गरेको छ।
सूचनामा उल्लंघन गर्ने व्यक्ति वा समूहलाई प्रचलित कानुन तथा निर्वाचन सम्बन्धी कानुन बमोजिम कडा कारबाही गरिने उल्लेख छ। शान्ति सुरक्षा कायम राख्न जिल्लाभर सुरक्षाकर्मी परिचालन समेत बढाइएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

COMMENTS