बिरगंज भन्सार कार्यालय हुँदै पछिल्लो डेढ महिनाको अवधिमा २ हजार १३६ वटा एलपी ग्यासका बुलेट नेपाल भित्रिएका छन्। मध्यपूर्वका देशहरूमा देखिएको संकटका कारण अन्तर्राष्ट्रिय बजारमा ग्यास आपूर्तिमा समस्या उत्पन्न भएसँगै यसको असर नेपालमा पनि देखिन थालेको छ।
भन्सार कार्यालयका अनुसार फागुन महिनामा मात्रै १ हजार ५६० वटा ग्यास बुलेट वीरगञ्ज नाका हुँदै भित्रिएका छन्। एकीकृत भन्सार जाँचचौकी व्यवस्थापन गरिरहेको टिआरएस हिमायन लजी पार्क का अपरेसन हेड गणेश घिमिरे ले माघदेखि चैत १३ गतेसम्मको अवधिमा कुल २ हजार १३६ बुलेट आयात भएको जानकारी दिएका छन्।
उनका अनुसार माघ महिनामा १ हजार ४०३ बुलेट भित्रिएका थिए भने चैत १३ गतेसम्म थप ५७६ बुलेट नेपाल प्रवेश गरिसकेका छन्।
चालु आर्थिक वर्षको पहिलो सात महिनामा मात्रै यस नाका हुँदै २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलो एलपी ग्यास आयात भएको छ। यो तथ्यांक अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिन्छ। गत आर्थिक वर्षको पहिलो सात महिनामा २४ अर्ब ६ करोड रुपैयाँ बराबरको २१ करोड ४२ हजार ७८१ किलो ग्यास आयात गरिएको थियो।

COMMENTS