जिल्ला प्रहरी कार्यालय , काठमांडूका अनुसार सैफलाई शंकास्पद आर्थिक कारोबारको सूचनाका आधारमा नियन्त्रणमा लिइएको थियो। पक्राउ परेपछि उनको साथबाट बरामद गरिएका दुईवटा मोबाइल फोनमा देखिएका कारोबार विवरणहरू डिजिटल फरेन्सिक प्रयोगशालाबाट परीक्षण गर्दा क्रिप्टोमार्फत ठूलो रकमको लेनदेन भएको पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ।
अनुसन्धानका क्रममा सैफले आफूले अनलाइन माध्यमबाट क्रिप्टो कारोबार गर्ने गरेको स्वीकार गरेका छन्। उनले यो कारोबार आफ्ना चिनजानका मुराद आलम नामक व्यक्तिको सल्लाहमा सुरु गरेको बयान दिएका छन्। सैफका अनुसार आलमले उच्च मुनाफाको प्रलोभन देखाउँदै उनलाई क्रिप्टो ट्रेडिङमा संलग्न गराएका थिए। त्यसको बदलामा आफूले मासिक २०० देखि २५० अमेरिकी डलरसम्म हिस्सा पाउने गरेको उनले बताएका छन्।
प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले सैफविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ। उक्त मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा दर्ता भई कानुनी प्रक्रिया अगाडि बढिरहेको जनाइएको छ।
प्रहरीले क्रिप्टोकरन्सी जस्ता डिजिटल माध्यम प्रयोग गरेर गैरकानुनी रकम ओसारपसार गर्ने गिरोह सक्रिय रहेको संकेत गर्दै यस्ता गतिविधिमाथि निगरानी कडा बनाइएको जनाएको छ। अनुसन्धान अझै जारी रहेको र अन्य व्यक्तिको संलग्नता पनि खुल्न सक्ने प्रहरीको भनाइ छ।

COMMENTS