बारा, माघ १५ / जीतपुरसिमरा-१६ पिलुवा ठूलो आशा र उत्साहका साथ सुरु गरिएको बर्थिङ सेन्टर (प्रसूति केन्द्र) निर्माण कार्य ६ वर्ष बितिसक्दा पनि अधुरै अवस्थामा अलपत्र परेको छ। मधेश प्रदेशका पूर्वमन्त्री एवं निवर्तमान सांसद ज्वाला साहको संसदीय क्षेत्र विकास कोषको बजेटबाट सुरु भएको यो योजना अहिले बेवारिसे जस्तै बनेपछि स्थानीय बासिन्दा सास्ती खेप्न बाध्य भएका छन्।
शिलान्यास भएको वर्षहरू बितिसक्दा पनि भवन निर्माण इँटाको पर्खाल र पिलरमै सीमित छ। छत ढलान नहुँदा, झ्याल–ढोका नलाग्दा र वरिपरि झाडी बढ्दा संरचना खण्डहरमा परिणत हुन थालेको छ। अधुरो भवन अहिले गाईवस्तुको बासस्थानजस्तै बनेको स्थानीय बताउँछन्।
पिलुवा क्षेत्रमा व्यवस्थित प्रसूति सेवा नहुँदा सामान्य जाँचका लागि समेत सिमरा वा वीरगञ्ज पुग्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ।
“गाउँमै बर्थिङ सेन्टर बन्छ, दुःख घट्छ भनेर खुसी भएका थियौँ। तर ६ वर्ष बितिसक्दा पनि अवस्था उस्तै छ,” एक स्थानीयले भने।
आर्थिक अवस्था कमजोर भएका परिवारका लागि टाढाको अस्पताल जाँदा यातायात र उपचार खर्च धान्नै मुस्किल पर्ने गरेको उनीहरूको भनाइ छ।
सुरुवाती चरणमा बजेट विनियोजन भएर काम सुरु भए पनि त्यसपछिका वर्षहरूमा बजेट निरन्तर नहुँदा र स्थानीय तहको चासो नपुग्दा योजना रोकिएको बुझिएको छ। एउटा जनप्रतिनिधिले सुरु गरेको योजनालाई अर्कोले अपनत्व नलिने राजनीतिक संस्कारका कारण विकास योजना अधुरै रहने प्रवृत्ति यहाँ पनि दोहोरिएको स्थानीयको आरोप छ।
निर्माण कार्य किन रोकियो र आगामी बजेटमा योजना समेटिने हो कि होइन भन्ने विषयमा सम्बन्धित निकायबाट स्पष्ट जवाफ आएको छैन। एक जनप्रतिनिधिले भने यसपटक बजेट पार्ने सम्भावना रहेको संकेत गरेका छन्। स्रोतका अनुसार स्थानीय तहसँग पटक–पटक पहल भए पनि विविध कारण देखाउँदै काम अघि बढ्न नसकेको गुनासो छ।
स्थानीयले पिलुवामा रहेको स्वास्थ्य चौकीसमेत वडाकार्यालय छेउमै सीमित राखिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले तुरुन्त बजेट व्यवस्था गरी अलपत्र भवनलाई पूर्णता दिन र प्रसूति सेवा सञ्चालन गर्न माग गरेका छन्।
राज्यको लाखौँ लगानी भइसकेको संरचना यत्तिकै छाडिनु बजेटको दुरुपयोग मात्र नभई जनताको आधारभूत स्वास्थ्य अधिकारमाथिको बेवास्ता भएको स्थानीयको ठम्याइ छ। प्रसूति जस्तो संवेदनशील सेवामा यस्तो लापरबाहीले जोखिम बढाउने भन्दै उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

COMMENTS