बाराको जीतपुरसिमरा क्षेत्रमा मंगलबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा लेबलविहीन खाद्य सामग्री बिक्री वितरण गरेको आरोपमा एक उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाराको नेतृत्वमा गएको अनुगमन टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ र २ मा रहेका खाद्य, किराना तथा मिठाई पसलसहित १० वटा व्यावसायिक फार्महरूको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा वडा नं. २ स्थित नारायणी फुड्स उद्योगले आवश्यक विवरणबिनाका खाद्य सामग्री बजारमा पठाएको भेटिएपछि उपभोक्ता संरक्षण ऐनअनुसार तत्काल कारबाही गरिएको प्रशासनले जनाएको छ।
अनुगमनमा अन्य ९ वटा व्यवसायमा पनि सानातिना कैफियत फेला परेकाले सम्बन्धित व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ पूर्ण रूपमा पालना गर्न र व्यवसायिक पारदर्शिता कायम राख्न निर्देशन दिइएको छ।
टोलीमा जिल्ला प्रशासन कार्यालय बारा, घरेलु तथा साना उद्योग कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरू सहभागी थिए। यसअघि सोमबार मात्रै दुई पसललाई कुल ७० हजार रुपैयाँ जरिवाना गरिएको थियो।
प्रशासनले बजारमा अखाद्य वस्तुको बिक्री वितरण रोक्न तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

COMMENTS