बाराको कलैयामा शनिबार आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन केन्द्रित बैठकमा विवाद उत्पन्न भएको छ। संस्थापन पक्षले ...
बाराको कलैयामा शनिबार आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन केन्द्रित बैठकमा विवाद उत्पन्न भएको छ। संस्थापन पक्षले दबाब सिर्जना गरेको आरोप लगाउँदै एक पक्षले बैठकमा होहल्ला गरेपछि केही समय तनावको अवस्था बनेको थियो।
प्रतिनिधि सभा सदस्य तथा रास्वपा नेता रहबर अन्सारी का अनुसार, जिल्ला अधिवेशनको तयारीका सन्दर्भमा बैठक आयोजना गरिएको थियो। सोही क्रममा पार्टीबाट निष्काशित व्यक्तिहरूले कार्यक्रम बिथोल्ने प्रयास गरेको उनले बताएका छन्।
अन्सारीले विवादका बीच पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको दाबी गर्दै “बैठकबाट सांसदहरूलाई लखेटिएको भन्ने समाचार पूर्ण रूपमा झुटो हो” भने। उनका अनुसार, विवाद बढ्न सक्ने अवस्था देखिएपछि प्रहरीले काठमाडौंबाट आएका अतिथिहरूलाई सुरक्षाका लागि नजिकैको कोठामा बस्न आग्रह गरेको थियो।
कार्यक्रममा काठमाडौंबाट आएका राजन शर्मा, कामनी चौधरी लगायत मधेश प्रदेशका नेताहरूको समेत सहभागिता रहेको थियो। गएको वैशाख २७ गते रास्वपाको केन्द्रीय समितिले बारा जिल्ला कार्यसमिति विघटन गरेको थियो।

COMMENTS