काठमाडौँ / सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ले राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएसँगै मुलुक सम्पूर्ण रूपमा निर्वाचन प्रक्रियामा प्रवेश गरेको बताएका छन्।
स्मार्ट हुलाक घोषणा तथा शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री खरेलले आगामी निर्वाचनमा सहभागी हुने सबै दलबाट सूची दर्ता भएसँगै देश औपचारिक रूपमा निर्वाचनमा होमिएको स्पष्ट पारे। उनले फागुन २१ गते चुनाव हुन्छ कि हुँदैन भन्ने बहस अब समाप्त भइसकेको उल्लेख गर्दै तोकिएकै समयमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे।
“चुनाव हुन्छ कि हुँदैन भन्ने बहस पनि अब अन्त्य भइसकेको छ,” मन्त्री खरेलले भने, “आगामी निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नेगरी सबैले सहभागितामूलक वातावरण निर्माण गर्नुपर्छ।”
उनले विगतमा विषम परिस्थितिमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न हुँदै आएको स्मरण गराउँदै यसपटक पनि सरकार र राजनीतिक दलहरू शान्तिपूर्ण निर्वाचन गर्न सक्षम हुने विश्वास व्यक्त गरे। “निर्वाचनको पहिलो सर्त नै शान्ति सुरक्षा हो,” उनले भने, “सरकारले ढुक्क भएर मतदान गर्ने वातावरण बनाइरहेको छ। सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा छन्, शान्ति सुरक्षामा कुनै समस्या हुँदैन।”
मन्त्री खरेलले देशको विकास र समृद्धिका लागि सबै नागरिकलाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन र योग्य उम्मेदवारलाई विजयी गराउन आग्रह गरे। साथै, हरेक निर्वाचनमा चर्चामा आउने इ–भोटिङ तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा सरकारको प्रयास निरन्तर जारी रहेको बताए। अन्तरजिल्ला तथा वैकल्पिक मतदान प्रणालीबारे पनि गम्भीर छलफल भइरहेको उनले जानकारी दिए।
निर्वाचन सफल बनाउन सबै सरोकारवालालाई आह्वान गर्दै मन्त्री खरेलले स्मार्ट हुलाक सेवामार्फत हुलाक सेवा घर–घरमा पु¥याउन सम्बन्धित निकायलाई निर्देशन दिए।
कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले स्मार्ट हुलाक सेवा सुरुआतसँगै गोरखा जिल्ला हुलाक उदाहरणीय बनेको उल्लेख गरिन्। उनले सूचना प्रविधिको विकाससँगै हुलाक सेवालाई पनि रूपान्तरण गर्दै त्यसबाट नागरिकले अधिकतम लाभ लिन सक्नेगरी सरकारले काम गरिरहेको बताइन्।



COMMENTS